प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

बुद्धिसगरका केही संकलीत भनाइहरु – २

१. हिँड्दा खुट्टा थाकेजस्तो लाग्यो भने — दुर्घटनामा खुट्टा काटिएकालाई सम्झिनुस् । हेर्दा आनन्द लाग्ने केही देख्नुभएन भने— जन्मजातै नेत्रबिहीन भएकालाई सम्झनुस् । आफ्नो भारी आँफै बोक्न लाज लाग्छ भने— बुढेसकालमा प्रचन्ड गर्मीमा कुन्टलौ गहुँग्रो भारी बोक्नेहरुलाई सम्झिनुस् । हप्प गर्मी बढेजस्तो लाग्यो भने — दिनभरी सडक किनारमा मकै पोल्ने बुढी आमैलाई सम्झिनुस् । परिवारले अनेक थरी कुरा गरेर दिक्क लाएजस्तो लाग्यो भने— बिद्धाश्रममा एक्लो भएर काल कुरिरहेका बृद्ध र बृद्धालाई सम्झिनुस् । बाआमाको कुराले चोट पुगेजस्तो लाग्यो भने— सडक किनारमा घुँडा खुम्चाएर सुतेका सडक बालबालिकालाई सम्झिनुस् । शहरमा घडेरी किन्न सकिनँ भनेर तनाव छ भने— बाँच्ने मोहमा आफ्नो किड्नी बेच्नेहरुलाई सम्झिनुस् । प्रेम बियोग परेको छ भने— झरीमा आफू रुझेर साडीको सप्कोले तपाईको शिर छोपिदिने आमालाई सम्झिनुस् ।

२. किताब यस्तो होस्, पढ्नेलाई लागोस- एउटा छोटो समयको साथी सबैभन्दा लामो र मिठो सम्झना दिएर गयो ।

३. मरेको मुसाभन्दा ‘बढी र ज्याद्रो’ केही गन्हाउँछ भने त्यो मरेको सपना हो !

४. जिन्दगी, आफूले लेख्न नसकेको र अरुले लेखेको चित्त नबुझेको ‘किताव’जस्तै हो ।

५. मरेपछि कोही मन-मनमा बस्छन कोही बस्छन चिहानमा ।

६. आँखामा लेखे- ऐनाले पढ्छ । धर्तीमा लेखे- आकाशले पढ्छ । किनारमा लेखे- लहरले पढ्छ । जुनमा लेखे- घामले पढ्छ । पातमा लेखे- यामले पढ्छ । गोधुलीमा लेखे बिहानीले पढ्छ । चिनाहमा लेखे जिन्दगानीले पढ्छ ।

७. जब तारा खस्छ र ठाउँ खाली हुन्छ, तब भगवानले धर्तिको सबैभन्दा सुन्दर मन भएको मान्छेलाइ बोलाउँछन् र तारा बनाउँछन् ।

८. भोगाई जस्तो मिठो कमाइ अरु के हुन्छ र ?

९. गमलामा छु भनेर फूल कहा लत्रिन्छ र ! उ त आकाश हेर्दै फक्रन्छ ।

१०. सबैभन्दा अध्यारो र डरलाग्दो हुन्छ- मान्छेविनाको घर, पैसाबिनाको गोजी र संवेदनाविनाको हृदय ।

११. साइकिल सिक्दा खुट्टामा लागेका दाग अझै छन । सोच्छु, हरेक सिकाइका दागहरु कहिकतै बसेकै हुन्छन् । कुनै देखिन्छन कुनै देखिदैनन ।

१२. पुर्नजन्म भनेको मरेर फेरी जन्मने होइन रैछ। मान्छे त एउटै जुनीमा धेरैपल्ट मर्दो रैछ, धेरैपल्ट जन्मँदो रैछ। कसैलाई कष्टले फेरि जन्माउँदो रैछ। कसैलाई प्रेमले !

स्रोत : बुद्दिसागरको फेसवुक प्रोफाइल

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!