विचार

प्रेमको बारेमा यसो भन्नुहुन्छ डाक्टर योगी विकाशानन्द

एउटा विश्वविख्यात कथा छ– एउटा ठूलो परिवारका सबै सदस्यहरू समुद्री यात्रा गर्दै थिए । निरन्तर अनपेक्षित वर्षाको कारण समुद्री छालले उनीहरूलाई झट्काई दिन्छ अर्थात् उनीहरू समुन्द्रमै हराउन थाल्छन् । निकै दिनपछि भोजन र पानी सकिदैँ जान्छ । त्यसपछि एकपछि अर्काे सदस्य मर्न थाल्छन् । अब उनीहरूमा तीन प्रमुख समस्या देखिन थाल्छ । एक– खानपिऊन नपाउनु, दुई– सुत्न नसक्नु, तीन– प्रियजनहरूसित सदाको लागि छुट्टिनु । उनीहरूले अन्ततः जेनतेतन किनारा भेट्टाउँछन् । अब उनीहरूले पहिलो काम के गर्छन् होला ? परिवार बिछोडमा रुन्छन् या सुत्छन् ? वा भोजन खोज्न हिंँड्छन् ? किनार पक्डनसाथ पहिलो काम उनीहरू भोजन खोज्न हिँड्छन् । खाइवरी गरी टन्न सुत्छन् र बल्ल उठेर प्रेमपात्रहरू मरेको पीडामा क्वाँक्वाँ रुन्छन् ।

उनीहरू पहिल्यै किन रोएनन् ? जवाफ प्रष्टै छ– किनभने प्रेम जीवनको पहिलो आवश्यक्ता होइन । पहिलो आवश्यक्ता हो भोजन । मान्छेको लागि पेट नभरेसम्म प्रेम बकबास हुन्छ । खानु र सुत्नुजस्ता प्राथमिक आवश्यक्ता पूर्तिपछि मनोबेत्ता अब्राहम मालो अनुसार उनीहरूले खोज्ने कुरा प्रेम होइन, सुरक्षा हो । त्यसैले भयभीत मनस्थितिमा प्रेमानुभूति हुँदैन । मानसिक रुपमा सुरक्षित महसुस भएपछि भने उसको खोज हुन्छ, पे्रेम–प्यार । तर प्रेम–प्राप्तिपछि पनि मान्छे धन्य भने हुँदैन । किनभने उसको अन्तिम खोज हो– मुक्तिबोध अर्थात् विचार र भावनाका आघात–प्रत्याघातबाट सधैँको लागि मुक्ति । यही अन्तिम खोज हो मान्छेको । प्रेमप्राप्ति त्यतातिरको एक साधन मात्र सावित हुन्छ, साध्य होइन । त्यसैले जतिपनि महान् प्रेमी प्रेमिकाहरूका नाम हामीलाई थाहा छ,– लैलामज्नु, रोमियो–जुलियट, हीर–राँझा, सिरी–फराद आदि । सबै बिहेअघि नै मरेका हुन् । र, बिहे गरेर पनि प्रेमका अमरकथा बनेका सायदै मात्र कुनै पात्र होलान् । किनकि बिहेपछि उनीहरूले प्रेम खोज्दैनन्, आत्मसम्मान खोज्छन्, ज्ञान खोज्छन् । त्यहाँबाट पनि उठेर जीवन–मुक्ति खोज्छन् । जुन प्रेम पात्रले दिने–लिने कुरा होइन ।

अतः प्रेम जीवनको लागि सानो कुरा त होइन नै तर यो ठूलो कुरो पनि होइन । किनकि, यसअगाडि र त्यसपछाडि पनि मान्छेको खोजहरू छन् । जसको पूर्ति नभएसम्म ऊ भौतारिनै रहन्छ– जन्म जन्मसम्म ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!