विश्व साहित्य

‘मौनदिपको अमर प्रेम’ – एक नस्ट्याल्जा

– यात्री केशर

त्यो बेला, जब रेडियो नै सबैथोक थियो; समाचार सुनिन्थे, गित सुनिन्थे अनि रेडोयो नाटकको त बेग्लै स्थान थियो । ‘साथीसँग मनका कुर’ को हरेक शनिबार आउने नाटक सुन्न त म समय कुरेर बस्थे । किशोर वय, संवेगात्मक विकास चरम चूलीमा थियो । कुत्कुते भावनाहरुले ओतप्रोत ।

व्याट्रीबाट चल्ने त्यो सानो बत्तिको उज्यालोको परिधि बाहिर खाटको एउटो कुनोमा बसेर सानो मोबाइलमा एअरफोन जोडी रेडियो बजाए । रातको बेला साहित्यिक र सांगीतिक रेडियो कार्यक्रमहरु विभिन्न फ्रीक्वेन्सीमा बज्ने गर्थे । त्यसमा रेडियो नेपाल मेरो लागि खास थियो । त्यो एक्लो रात, चौतर्फीको सन्नाटा र आफूभित्रको आफू मात्र । भावनाको डुंगामा बहदै अवचेतनसम्म झर्ने ‘पर्फेक्ट’ समय र अवस्था । त्यस्तैमा रेडियोमा गीति-नाटक सुरु हुन्छ, सुगम संगितको साथमा । म त्यो बखत र आज पनि सुगम संगित भनेपछि हुरुक्कै हुने । प्रकाश शायमीको कार्यक्रमबाट त मेरो आकर्षक हर्लक्कै बढेको थियो । पहिलोपटक सुनेझै लाग्ने त्यो गीति नाटकको कार्यक्रम ‘अरु गर्नु नै के छ र’ भनेर सुन्न तयार भए ।

‘मौनदिपको अमर प्रेम’ – त्यो नाटकको शीर्षक थियो यो । प्रेमको महनताको निम्ति गरिएको त्यागलाई निकै सरल अनि सुबोध फुलरुपी शब्दहरु मार्फत उनिएको गुलदस्ता थियो त्यो । अझ कथासँग मिल्दो बीचबीचमा बज्ने ती पुराना गीतहरुले त्यो गुलदस्ताबाट महकिने सुगन्ध छरेझै लाग्थ्यो । मानौँ, शब्द र संगितले मनको गहिराइसम्म पुग्न चेतनाजन्य पाँचै इन्द्रियलाई काबुमा लिए झैं । खैर अरुको लागि त के थियो, तर म त्यो कहानी अनि संगितले लट्ठिएको थिए । प्रेम शब्दबाट पग्लिएर अब भावना बन्न पुगेको थियो मेरो निम्ति । एउटा गन्तव्य जस्तो जसदेखी म निकै टाढा छु, निकै नै टाढा । अघिसम्म हल्काफुल्का लाग्ने प्रेम मौनदिपको त्याग जस्तै महानतम अनुभुती लाग्न थालेको थियो, महानता जोडिएर निकै गह्रौं । जसको प्राप्ति मात्रले पनि जिवनको सार्थकता पूरा हुनेछ ।

एउटा गीति नाटकले मानिसको मनमा कति प्रभाव पार्न सक्छ होला ?! म आज पर्यन्त त्यो बखत मनमा परेको प्रभावले ओतप्रोत हुन्छु । जिन्दगी त क्षणभंगुर छ, ठेस छ, ठक्कर छ, संघर्ष छ, दर्द छ । अधुरो जस्तो अपुरो जस्तो । तर त्यही जीवनमा यदि प्रेम छ भने, यदि त्यो प्रेम अवचेतनको गहिराईबाट छ भने, अमर छ भने जीवनका यी अधुरोपन पनि पूर्ण छ । जिवनको यस्तो अवयव जसको बिना जीवन पूर्ण हुनै सक्दैन । अनि सँगसँगै त्यो त्याग विना, महानता विना प्रेम पनि अधुरो छ । मुटु जलेर सबै विकार हटेपछी बाकी रहेको त्यो कसी लगाएको चोखो माया मात्र हृदयमा बाकी रहेर प्रेम गर्न सकिन्छ भने बल्ल त्यो प्रेम पूर्ण भएझै । न कुनै शर्त, न रुपको आकर्षण, न उमेरको बन्धन, न जातको दूरी, न यौवनको प्यास । वस्, शुद्ध प्रेमले नै जिन्दगीलाई पूर्ण बनाउने जस्तो । त्यो गन्तव्य मिले जस्तो । यी भावनाबाट आज पनि म ग्रसित छु ।

मुना मदन, लैला मज्नु, रोमियो जुलिएट, एन्टोनी क्लियोपेट्रा, अन्ना कारेनिना संसारका प्रायः महानतम प्रेम कथाहरु दुखान्त: थिए । किनकी तिनमा वस्तविक प्रेम थिए, जब प्रेम नै आफैमा एउटा दुनियाँ बन्छ तब वास्तविक दुनियाँ तिमिलाई हराउन निस्कन्छ । तर प्रेम नै सर्वथोक हुनेहरु वास्तविक दुनियाँलाई छोडेर आफ्नै दुनियाँमा एक भएका हुन्छन्, उनिहरुको दुनियाँमा सफल भएका हुन्छन् ।

प्रेम भन्ने चिज नै कस्तो, अपूरोमा पनि पूर्णता । एक नै सर्वथोक । एकमा जति जोडे पनि एकै हुने । एक नै अन्तिम ।

त्यो रात, सन्नाटा, थोरै बत्तिको उज्यालो, रेडियो, रेडीयोको गीति-कथा अनि म भित्रको एक्लो म । हो, मौनदिपको अमर प्रेमको कहानीले त्यो उमेरमा मथिंगलको एउटो कुनोमा जीवनको अपूर्णता बोध गराएको थियो, जीवन उपरको सार्थकता सोध्न बाध्य गराएको थियो । र, जब अवचेतनको गहिराइबाट ती यादको छाल उत्ताल बनेर मस्तिष्कसम्म आइपुग्छ, म आज पनि आफैलाई अपुरो सम्झन्छु, अधुरो सम्झन्छु ।

अझै त्यो गन्तव्य नभेटे जस्तो, अझै त्यो महानता नचुमेजस्तो ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!